आभारी छौ, सहयात्रीहरुप्रति Text selection Lock by computernepalima

Home » » नागपंचमी पर्व र यसको महिमा : अच्युतप्रसाद पौडेल, चिन्तन

नागपंचमी पर्व र यसको महिमा : अच्युतप्रसाद पौडेल, चिन्तन

Written By YMC on Friday, August 13, 2010 | 10:56 PM

पूर्वीयदर्शन धेरै फराकिलो छ। विज्ञानको स्रोत मानवदेखि सूक्ष्मभन्दा सूक्ष्म जीवात्माहरुको समेत पूजा गर्दै आफ्नो धर्म संस्कृति र कलाको मौलिक संरक्षण गर्नु पूर्वीय चिन्तनको व्यापकता हो।
यसले न केवल परम्परा धान्ने किन्तु जीवनपर्यन्त र त्यसपछिका दिनसम्म उज्यालो र सार्थक बनाउने प्रयाससमेत गरेको छ। श्रावणको आरम्भदेखि नै शुरु हुने चाड पर्वमध्ये अहिले हामी नागपाचमी विशेषमा आइपुगेका छौं। श्रावणशुक्लपाचमीको दिन घर घरवरिपरिको परिवेश र समग्र वातावरण पवित्र पार्ने क्रममा नागको पूजा गर्ने विशेष पर्व नै नागपंचमी हो।
भोलि श्रावणशुक्लपाचमीका दिन नागको विशेष चित्र लेखेर दही दूध लाबासमेतले पूजा गरी घरका मूल ढोकाहरुमा नाग टाँस्ने कार्य हुनेछ। हरेक देवदेवीहरुको मूर्ति चित्रहरुबाट जीवनका लागि आवश्यक नवऊर्जा प्राप्त हुन्छ। देव देवी मठ मन्दिर प्रवेश पूजा दर्शन चिन्तनमनन गर्नुको मूल उद्देश्य सकारात्मक सोच नै हो। हरेक मूर्ति चित्र आदिबाट सकारात्मक र नकारात्मक दुवै ऊर्जा प्रवाह भैरहन्छ। सदैव सकारात्मक ऊर्जा प्राप्तिका लागि मठ मन्दिर मूर्ति चित्रको अवस्थामा पनि ध्यान दिनुपर्ने हुन्छ। पूर्वीय दर्शनले यस बारेमा उद्बोधन गर्दै नागको शिर भाद्र आश्विन र कार्तिक महिनामा पूर्वतिर हुने बताएको छ भने मंसिर पुस माघमा नागको शिर दक्षिणतिर हुन्छ। त्यस्तै फागुन चैत्र वैशाखमा पश्चिमतिर नागको शिर हुन्छ भने ज्यॆष्ठ आषाढ श्रावणमा नागको शिर उत्तरदिशातर्फ हुन्छ। नागको पूजा गर्दा शिरको ज्ञान भएन भने पूजाको प्रयोजन निरर्थक हुन्छ।
समग्र भूमण्डललाई शेषनागले धारण गरेको कथन पनि पूर्वीय चिन्तनमा स्पष्ट उल्लेख छ। पानीमा नाग बस्ने र पृथ्वीको गर्भभित्र धेरै पानी नै भएकाले सो कुराको पुष्टि हुन्छ। आफ्ना वरिपरि नागको सरेस भइरहने र बेला बखत पूजा गर्नाले अग्निभय प्रकोप चट्यांग विद्युतीय विस्फोटक आदिको समस्या हुँदैन। सर्प जातिलाई नाग भनिन्छ र नागलाई सर्पहरुको राजा भनिन्छ। जहाँ नागहरु हुन्नन् त्यहाँ पानी हुँदैन। पानीबिना कुनै जीवात्मा बाँच्तैन। घरको जग हाल्दा वा वास्तुपूजा गर्दा नागको सर्वप्रथम पूजा गर्ने चलन छ। किनकि नाग खुसी भए लक्ष्मी धन को वर्षा हुन्छ। सुख समृद्धि र आरोग्य चाहनेले नागको विशेष चिन्तन गर्नुपर्ने हुन्छ। कृषिप्रधान मुलुक हाम्रा गाउँबस्तीहरुमा धान रोपाइँ गर्दा पनि नागको पूजा गर्ने चलन अद्यावधि छँदै छ।
वैदिक परम्परामा नागलाई शिव र विष्णुका साथै देवीका शक्तिका रुपमा मानिन्छ। पंचायन देवतामध्ये शिवको गलामा नाग विष्णुको शैयामा नाग गणेशका हातमा नाग रहेका छन् भने सूर्यको उपासनामा पनि नागको चर्चा आउँछ। त्रेतायुगीन रामका भाइ लक्ष्मणलाई शेषको अवतार मानिन्छ भने द्वापरयुगीन उनै कृष्णका दाजु बलराम शेषनागका प्रतीक नै हुन्।
भगवान् श्रीकृष्णले बाल्यकालमा कालीय नागको दमन गरेकाले जीवनको उषाकाल वा किशोर अवस्थामै विषतुल्य प्रदूषणलाई हटाइसक्नुपर्ने संकेत प्राप्त हुन्छ भने सत्ययुगको समुद्र मथनको प्रसंगले शेषनागको घाँटीमा रहेको हलाहल विष ओकेली सकेपछि मात्र अमृत प्राप्त भएको कथानक भेटिन्छ। यसको लाक्षणिक संकेत के हो भने द्वन्द्व र युद्धपछि निश्चय नै शान्त वातावरण हुनुपर्छ भन्ने पनि हो। आजको युगमा ठूला विश्वयुद्धपछि शान्तिको संकेत राष्ट्रसंघको जन्म यसको थप उदाहरण हो। शेषशायी विष्णु सर्पमाथि सुतेर पनि शान्त र आनन्दित छन् अर्थात् समाजमा राग द्वेष हुन्छ तथापि मानिसले विषम परिस्थितिमा पनि शान्त र आनन्दित हुनुपर्छ भन्ने संकेत हो। बुद्धको मुकुटमा सर्पका आकृति चिन्ह देखिनुको संकेत पनि वरिपरि परिवेश अशान्त र विषालु भए पनि आफू सौम्य र शान्त बन्नुपर्छ भन्ने हो।

फ्ं&sfm परिवारभित्रका जैन तीर्थंकरहरुका शिरमा पनि सूर्य आकारका मुकुटहरु हुन्छन्। पानीका देवता मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला शोभित छ। काठमाडौंको टौदहस्थित कर्कोटक नागदहको पानी कटाएर काठमाडौं उपत्यकामा बस्ती बसाल्ने वीर र धार्मिक व्यक्तिहरुको इतिहास हाम्रै सामु छ। नागपाचमीकै दिन टौदहमा नागदह मेला लाग्छ र त्यहाँ नागको विशेष पूजा हुन्छ।
नागका विभिन्न विशेष नामहरु छन् -अनन्त बासुकी शेष पद्मनाभ कम्बल धृतराष्ट्र शड्ढपाल तक्षक कालीय आदि। प्रत्येक दिन मानवले यी नागका नाम स्मरण गर्यो भने जीवनमा कहिल्यै सर्पको भय हुँदैन। सर्पहरु विषालु पनि हुन्छन्। तपस्वी ऋषिका श्रापले द्वापरयुगमा तक्षक नागले डसेर चक्रवर्ती सम्राट परिच्छितलाई देहान्त गरायो। आजभोलि हाम्रो मुलुकमा पनि प्रायः तराई क्षेत्रमा सर्पदंश हुने गरेको देखिन्छ। कतिपय व्यक्तिले ज्यान पनि गुमाएका छन्। यसतर्फ भने हामी सतर्क रहनुपर्छ।

नाग खुसी हुँदा संरक्षण दिन्छन्। रिसाउँदा घरै पल्टाउन पनि सक्छन् त्यसैले हरेक घरको जग हाल्दा घर सर्दा नागको विशेष स्थान छुट्टुई पूजा गर्ने चलन रहेको छ। नागको पूजा गर्दा चामलको पीठोको मूर्ति स्वरुप नागदम्पती बनाउने गाईको दूध कपासको प्यूरी तील लावा चढाई केराको पातमा राखेर नागको प्रार्थना गर्नाले नागहरु बढी खुसी हुन्छन्। नागको पूजा गर्ने चलन वैदिककालदेखि नै शुरु भएको हो। (samacharpatra)
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. chhantyalarticle - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger